१७ फागुन,काठमाडौं - केपी शर्मा ओलीले मध्यपूर्वमा बढ्दो द्वन्द्व र मिसाइल आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालमा कुनै पनि बहानामा “मिसाइलको धुवाँ” प्रवेश नहोस् भन्ने कामना गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले युद्ध र भूराजनीतिक टकरावका कारण मध्यपूर्वमा रहेका लाखौँ नेपाली जोखिम र त्रासको अवस्थामा रहेको उल्लेख गरे। त्यहाँ कार्यरत नेपालीहरूको असुरक्षाले स्वदेशमा रहेका परिवारसमेत पलपल छटपटाइरहेको उनले बताएका छन्।
ओलीका अनुसार अवसरको खोजीमा विश्वभर आवतजावत हुनु स्वाभाविक भए पनि युद्ध र शक्तिराष्ट्रको स्वार्थले सिर्जना गर्ने अस्थिरता अस्वाभाविक र खतरनाक हो। “ती देशहरू पनि युद्ध चाहँदैनथे, तर शक्तिको स्वार्थ घुसेपछि परिस्थिति जटिल बनेको छ,” उनले संकेत गरेका छन्।
नेपाल अहिलेसम्म प्रत्यक्ष रूपमा यस्ता आक्रमणको असरबाट जोगिएको उल्लेख गर्दै उनले त्यसलाई सौभाग्यको रूपमा व्याख्या गरे। “नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुवाँ नआओस्,” भन्दै उनले शान्तिको पक्षमा प्रार्थना गरेका छन्।
मध्यपूर्वमा रहेका नेपाली र तिनका परिवारको पीडाप्रति संवेदनशील हुँदै ओलीले आफूलाई समेत बेचैन बनाएको बताएका छन्। साथै, वर्तमान संवेदनशील घडीमा सबैलाई सजगता, धैर्यता, विवेक र साहसका साथ परिस्थितिको सामना गर्न आह्वान गरेका छन्।