१५ पुस, काठमाडौं - बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत निर्माणाधीन दाउन्ने खण्डमा सडक सतह अत्यन्त चिप्लो बनेपछि सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भएको छ।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (ADB) ले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार दाउन्ने खण्डमा Rigid Pavement तथा Culvert निर्माण कार्य भइरहेका कारण केही स्थानमा एकतर्फी सवारी आवागमन मात्रै सञ्चालनमा रहेको छ। पछिल्ला तीन दिनदेखि परेको भारी सितलहरका कारण सडक सतह चिप्लो बनेको र साना तथा ठूला सवारी साधन चिप्लिने, अड्किने तथा बिग्रिने समस्या देखिएको आयोजनाले जनाएको छ।
यसका कारण दाउन्ने खण्ड हुँदै यात्रा गर्न अत्यन्त कठिन अवस्था सिर्जना भएकाले आवश्यक मर्मत–सम्भार (Maintenance) कार्य सम्पन्न नहुन्जेल अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ।
साथै, सवारी सञ्चालन गर्दा आफ्नै लेनमा रही ट्राफिक नियमको पूर्ण पालना गर्नसमेत सबै सरोकारवालालाई आग्रह गरिएको छ। सूचनाबाट पर्न गएको असुविधाप्रति आयोजना कार्यालयले क्षमायाचना गरेको छ।
सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिन योजना कार्यालय सूचना अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।