सादा पोशाकका प्रहरीले बालेनका लागि मत मागे ?

साझा लाल्टिन संवाददाता

२० माघ, काठमाडौं - झापा निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहको पक्षमा सादा पोशाकका प्रहरीले समेत मत मागेको आरोप परेपछि निर्वाचन आयोग सक्रिय भएको छ । आयोगले उक्त विषयमा सत्यतथ्य छानबिन गर्न अनुगमन अधिकृतलाई निर्देशन दिएको हो ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बालेनकी पत्नी सविना काफ्ले केही दिनअघि झापा–५ मा घरदैलो अभियानमा सहभागी भएकी थिइन् । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित उनी मतदाताको घरघरमा पुगेर बालेनका लागि मत मागिरहेका थिए ।

तर उक्त टोलीमा सादा पोशाकका प्रहरी पनि सहभागी भएर मत मागेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरीकर्ताले सविना काफ्ले र उनको टोलीले मत माग्दै गरेको श्रव्य–दृश्य सामग्रीसमेत आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रहरी बालेनको पक्षमा भोट मागिरहेको देखिने सामग्री प्राप्त भएपछि आचारसंहिता अनुगमन अधिकृतलाई औपचारिक पत्र पठाइएको हो । आयोगले पत्रमार्फत बालेनको प्रचारप्रसारमा उनकी पत्नी सविनासँग सादा पोशाकका प्रहरी खटिएका थिए कि थिएनन् भन्ने विषयमा आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

आयोगको पत्रमा झापा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–५ मा उम्मेदवार बालेन्द्र शाहको चुनावी गतिविधिका क्रममा प्रहरी संलग्नताको आरोपबारे के कस्तो अवस्था हो भन्ने विषयमा तथ्यगत जाँचबुझ गरी प्रतिवेदन पठाउन भनिएको छ ।

प्रतिक्रिया