माओवादीको कारण राज्य लथालिङ्ग भयो : विप्लव

साझा लाल्टिन संवाददाता

काठमाडौँ -- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले अहिलेको राज्य लथालिङ्ग हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी भएको बताएका छन् ।

नेसपा (नयाँ शक्ति)को १०औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा नेत्रविक्रम चन्द 'विप्लव'ले क्रान्तिपछि राज्यसत्तामा पुगेका व्यक्तिहरू नै सत्तालिप्सामा लाग्दा यस्तो समस्या आएको बताएका छन् ।

हामी कलेज छोडेर प्रचण्ड, किरण, बाबुराम, बादल, सिपी गजुरेलको पछि लागेर जनयुद्धमा होमिएका हौँ । क्रान्तिपछि राज्य पुनर्संरचना कस्तो हुनुपर्छ भन्नेमा माओवादी आन्दोलन र हामी चुक्यौँ । माओवादीले जस्तो राज्य चाहेको थियो, त्यस्तो हुन सकेन । तर अर्थप्रणाली कस्तो हुनुपर्छ भन्नेमा देखाउन सकिन्थ्यो, उनले भने,आजको राज्यको लथालिङ्ग हुनुमा सबैभन्दा जिम्मेवार माओवादी हो । नितान्त माओवादी मन्त्री, प्रधानमन्त्री लगायत राज्यका पद बाँडफाँटमा लिप्त भएको छ ।  क्रान्तिपछि सबैभन्दा बढी विचलित युवाहरू भएका छन् । गणतन्त्रलाई योगदान गरेका मान्छेहरूको घरमा खाने अन्न छैन । पुरानै  सामन्ती फर्किएर आइसकेका छन् । त्यस कारण राज्यका संरचना नै अधुरो छ ।’ 

नयाँ शक्तिले पेस गरेको कार्यपत्रमा अग्रगामी परिवर्तन, आत्मनिर्भर सहितको समृद्धि, जनयुद्धको योगदान, राष्ट्रिय स्वाधीनता, आजको राज्यसत्ता र श्रमिकबिचको मुख्य अनन्तर विरोधलाई समेट्न विप्लवले सुझाव दिए ।

प्रतिक्रिया