धादिङमा नेकपाको तारालाई बलियो बनाउन उम्मेदवारी फिर्ता

साझा लाल्टिन संवाददाता

१३ फागुन,काठमाडौं - धादिङ क्षेत्र नं. १ को चुनावी समीकरणमा नयाँ मोड आएको छ । प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन सन्जेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे लाई समर्थन गर्ने घोषणा गरेका छन् ।

धुनीबेशी नगरपालिका–१ भन्ज्याङ पोखरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै सन्जेलले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । कार्यक्रममा पाण्डे र सन्जेलबीच आपसी सहमति पत्रमा हस्ताक्षरसमेत गरिएको थियो, जसलाई दुवै पक्षले विकास र सहकार्यको प्रतिबद्धताको रूपमा प्रस्तुत गरेका छन् ।

सभामा बोल्दै सन्जेलले पाण्डेलाई “धादिङको मात्र नभई देशकै अभिभावक नेता” भन्दै धादिङको समग्र विकासका लागि उनको जित आवश्यक रहेको उल्लेख गरे । “धादिङको सर्वाङ्गिण विकास र स्थायित्वका लागि मैले उम्मेदवारी निष्क्रिय पार्दै उहाँलाई समर्थन गर्ने निर्णय गरेको हुँ,” उनले भने ।

यसअघि नै सामाजिक सञ्जालमार्फत समर्थन घोषणा गरिसकेका सन्जेलले हस्ताक्षरसँगै चुनावी अभियानमा सक्रिय रूपमा पाण्डेको पक्षमा उत्रने प्रतिबद्धता जनाएका छन् ।

सन्जेलको समर्थनपछि धादिङ क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने विश्लेषण गरिएको छ, र पाण्डेको उम्मेदवारी अझ सुदृढ बनेको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ ।

प्रतिक्रिया