आज गणतन्त्र दिवसको दिन पक्ष–विपक्षमा प्रदर्शन

साझा लाल्टिन संवाददाता

काठमाडौँ १५ जेठ । देशमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । 

 सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । तर, यही गणतन्त्र दिवसको दिन राजावादी समूहले व्यवस्थाकै विरुद्ध राजधानीमा प्रदर्शन आयोजना गरेको छ । 

‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा राजधानीको शान्तिबाटिका क्षेत्रमा बिहीबार दिउँसो २ बजेपछि प्रदर्शन गर्न लागिएको हो । राजावादी समूहले बिहीबारदेखि अनिश्चितकालसम्म आन्दोलन गर्ने बताउँदै आएको छ । 

यता गणतन्त्रलाई उत्सवको रूपमा बनाउने भन्दै नेकपा एमालेले समेत बिहीबार नै प्रदर्शनको आयोजना गरेको छ । एमालेलाई प्रशासनले दिउँसो २ बजेसम्म प्रदर्शन गर्नेगरी समय निर्धारण गरेको छ । एमालेले भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन आयोजना गरेको छ । 

प्रतिक्रिया