३० फागुन,काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ चयन हुने सांसदहरूको नाम टुंगो लगाएको छ। आज बसेको पार्टी सचिवालय बैठकले १६ सिटका लागि क्लस्टर अनुसार सांसदको नाम अनुमोदन गरेको हो।
निर्णयअनुसार जनजाति कोटामा चार जना चयन भएका छन्। महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छनोट हुँदा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यको नाम तय गरिएको छ।
खस आर्य क्लस्टरअन्तर्गत पाँच जना चयन भएका छन्। महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल चयन भएका छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेललाई समानुपातिक सांसदका रूपमा छनोट गरिएको छ।
यस्तै थारु कोटाबाट कृपाराम राना चयन भएका छन्। दलिततर्फ महिलामा विष्णुमाया वी.क. र नीता घतानीलाई छनोट गरिएको छ। मधेसी क्लस्टरअन्तर्गत महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डलको नाम तय गरिएको छ। मुस्लिम कोटाबाट महिलातर्फ साजिदा सिद्दीकीलाई समानुपातिक सांसदमा चयन गरिएको छ।
पार्टीका अनुसार आजको बैठकमा संसदीय दलको भावी नेताबारे भने कुनै छलफल भएको छैन। चुनावी परिणामको समीक्षा अध्यक्ष केपी शर्मा ओलीको पारिवारिक शोक अवधि सकिएपछि मात्रै गर्ने निर्णय भएको बताइएको छ।
सचिवालय बैठक अध्यक्ष ओलीको निजी निवास गुण्डु, भक्तपुरमा बसेको थियो।