‘निर्वाचन सम्पन्न गरी युवा शक्तिका हातमा सत्ता हस्तान्तरण हाम्रो दायित्व’ प्रधानमन्त्री कार्की

साझा लाल्टिन संवाददाता

१८ मंसिर, काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन निर्धारित मितिमै सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने सरकारको प्रमुख दायित्व रहेको बताएकी छन्। उनले निर्वाचनमार्फत मुलुकलाई युवा नेतृत्वको हातमा सुम्पेर तीव्र विकासको यात्रामा अघि बढाउने लक्ष्य स्पष्ट रूपमा सरकारसँग रहेको उल्लेख गरिन्।

ज्यापु संस्कृति विकास कोषद्वारा आज काठमाडौँमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी पूरा भएको जानकारी दिँदै भनिन्, “घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सरकार पूर्ण तयारीमा जुटेको छ ।”

उनले भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले राजनीतिक नेतृत्वलाई महत्वपूर्ण सन्देश दिएको उल्लेख गरिन्। आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, रोजगारी, गाँस–बास–कपासको सुनिश्चितता तथा सुशासन जस्ता माग जनताको वास्तविक आवश्यकता रहेको बताउँदै उनले सबै पक्ष उक्त मुद्दाप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्-
“मुलुकका युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासन तथा जनताको आधारभूत आवश्यकता सुनिश्चित गर्न माग राखेका छन् । ती मागहरू पूरा गर्दै आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई तीव्र विकासतर्फ अघि बढाउनु हाम्रो दायित्व हो ।”

समारोहमा उनले ज्यापु र नेवार समुदायका सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्दै पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन्। योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा उनले उपत्यकावासी तथा देश–विदेशमा रहेका नेवार समुदायलाई शुभकामना व्यक्त गरिन् ।

प्रतिक्रिया