भ्रष्टाचारको अनत्य चुनावबाटै गर्नुपर्छ : प्रधानमन्त्री कार्की

साझा लाल्टिन संवाददाता

  ०२ माघ , काठमाडौँ  - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको वर्तमान राजनीतिक जटिल अवस्थाबाट बाहिर निस्कन लोकतान्त्रिक निर्वाचन बाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पारेकी छन्। त्यसका लागि समाजका सबै वर्ग, समुदाय र नागरिकको सक्रिय सहयोग आवश्यक रहेको उनको भनाइ छ।

शुक्रबार बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले देश पूर्णरूपमा निर्वाचन प्रक्रियातर्फ केन्द्रित भइसकेको बताइन्। उनले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर मुलुकलाई स्थायित्व र निकासतर्फ लैजाने अवसरका रूपमा बुझ्न आग्रह गरिन्।

‘मुलुक अहिले चुनावको मोडमा छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो निर्वाचनले देशलाई दीर्घकालीन स्थिरतातर्फ डोर्‍याउनेछ। भदौ २३ र २४ लाई केन्द्रमा राखेर सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ। यस्तो अवस्था फेरि दोहोरिन नदिन यो निर्णायक अवसर हो।’

प्रधानमन्त्री कार्कीले युवाको चाहना र अपेक्षाअनुसार आगामी निर्वाचनबाट नयाँ, सक्षम र इमानदार नेतृत्व संसदमा पुग्नुपर्नेमा जोड दिइन्। पुरानो सोच र शैलीले अब देश अघि बढ्न नसक्ने उल्लेख गर्दै उनले परिवर्तनको वाहक युवा पुस्ता हुनुपर्ने धारणा राखिन्।

‘पुरानै मानसिकताले शासन चल्दैन,’ उनले भनिन्, ‘अब नयाँ सोच, नयाँ ऊर्जा र इमानदार युवाहरूले नेतृत्व लिनुपर्छ। शासन प्रणाली पनि युवाको भावना र आवश्यकता अनुसार रूपान्तरण हुनुपर्छ।’

चुनावी प्रक्रियामा पैसाको प्रभाव नियन्त्रण गर्न मतदाता स्वयं सचेत हुनुपर्नेमा पनि प्रधानमन्त्री कार्कीले जोड दिइन्। भ्रष्टाचार नियन्त्रणको सुरुवात चुनावबाटै हुनुपर्ने उल्लेख गर्दै उनले पैसाको खेललाई अस्वीकार गर्न समुदायस्तरबाट निगरानी आवश्यक रहेको बताइन्।

भेटमा तामाङ समुदायको जनसंख्या, सांस्कृतिक पहिचान, आर्थिक तथा सामाजिक अवस्थाबारे समेत छलफल भएको थियो। सो अवसरमा घेदुङका प्रतिनिधिले आउँदो माघ ५ गते सोनाम ल्होछारको अवसरमा काठमाडौंमा आयोजना हुने तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन्।

त्यसैगरी, तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि पछिल्लो जनगणनामा करिब १७ लाख मात्र देखिएको भन्दै त्यसमा भएको त्रुटिप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको घेदुङले जनाएको छ।

प्रतिक्रिया