१५ फागुन,काठमाडौं - बुटवलमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशले छिमेकीबीच सन्तुलित कूटनीति अपनाउनुपर्ने बताएका छन्। भारत र चीनको बीचमा रहेको नेपालले चर्का अभिव्यक्तिभन्दा परिपक्व व्यवहार र सहमतिमूलक राजनीति रोज्नुपर्ने उनको धारणा थियो।
उनले लोकतन्त्र कुनै एक व्यक्तिको चमत्कारले चल्ने प्रणाली नभएको स्पष्ट पारे। “प्रधानमन्त्री बनेर कसैले चमत्कार गर्न सक्दैन,” भन्दै उनले लोकतन्त्रको शक्ति सामूहिक नेतृत्व र संस्थागत प्रक्रियामा निहित हुने बताए।
थापाले आगामी पाँच वर्ष देशका लागि निर्णायक समय भएको उल्लेख गर्दै ‘टिम नेपाल’को अवधारणा अघि सारे। उनका अनुसार कांग्रेस एक्लैले सबै परिवर्तन सम्भव छैन, संविधान संशोधनदेखि नीतिगत सुधारसम्मका कामका लागि व्यापक सहकार्य आवश्यक पर्छ।
उनले संविधान संशोधन गर्न प्रतिनिधि सभासँगै राष्ट्रिय सभाको समर्थन अनिवार्य हुने स्मरण गराउँदै एमाले, माओवादी, रास्वपासहित अन्य दलहरूको सहमति बिना ठूलो परिवर्तन सम्भव नहुने बताए। “म असल, अरू सबै खराब भन्ने सोचले देशलाई दुर्घटनातर्फ लैजान्छ,” उनले चेतावनी दिए।
उत्तेजनापूर्ण राजनीतिभन्दा संयम, सहकार्य र जिम्मेवार व्यवहारमार्फत मात्रै देशलाई स्थिरता र समृद्धितर्फ डोर्याउन सकिने उनको निष्कर्ष थियो।