झापा–५ अलर्ट : असंयमित नेतृत्वको भिडन्तले चुनावी हिंसा निम्त्याउने खतरा

साझा लाल्टिन संवाददाता

२४ माघ, काठमाडौं - झापा क्षेत्र नम्बर–५ अहिले सामान्य निर्वाचन क्षेत्र मात्र रहेन, बरु भावी राजनीतिक समीकरणको निर्णायक थलो बन्दै गएको छ। सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका बालेन साह र एमाले अध्यक्ष केपी शर्मा ओली आमनेसामने भएपछि यो क्षेत्र असाधारण रूपमा संवेदनशील बनेको छ। राजनीतिक वृत्तमा यसलाई दुवै पक्षका लागि ‘डु वा डाइ’ को लडाइँका रूपमा हेरिन थालिएको छ।

यदि बालेन साह यहाँ पराजित भए भने काठमाडौँ महानगरको मेयर पद गुमाइसकेका उनी राष्ट्रिय राजनीतिमा झनै कमजोर बन्ने आँकलन गरिएको छ। अर्कोतर्फ, केपी ओलीको हारले एमालेजस्तो सशक्त संगठन नै गम्भीर संकटतर्फ धकेलिन सक्ने खतरा देखिएको छ। यही कारणले झापा–५ लाई केन्द्र बनाएर सम्भावित झडप, अवाञ्छित गतिविधि र हिंसाको जोखिमबारे सुरक्षा निकायदेखि सरकार प्रमुखसम्म सचेत देखिएका छन्।

यही जोखिमलाई मध्यनजर गर्दै दमक क्षेत्रमा थप सय जना प्रहरी परिचालन गरिएको छ। मनोनयन दर्ताकै दिन तनावपूर्ण अवस्था देखिनु र स्थानीय मतदाताभन्दा बाहिरबाट आएका व्यक्तिहरूको बाक्लो उपस्थिति हुनु सुरक्षा निकायका लागि चिन्ताको विषय बनेको छ। सुरक्षा विश्लेषण अनुसार, दुवै उम्मेदवारले संयम देखाउन खोजे पनि यदि कुनै एक पक्षले वातावरण बिथोल्न खोज्यो भने स्थिति नियन्त्रण बाहिर जान सक्ने सम्भावना उच्च छ।

भारतसँग खुला सीमाले जोडिएको यो क्षेत्र सीमापार अपराध र बाह्य हस्तक्षेपको जोखिममा समेत रहेको सुरक्षा मूल्याङ्कन छ। यदि हार निश्चित देखिएपछि कुनै पक्षले अराजक बाटो रोजे भने विध्वंश निम्तिन सक्ने भन्दै सरकार थप सतर्क बनेको छ। झापा–५ मा अहिले अत्यधिक मात्रामा बाह्य स्रोत, साधन र शक्ति परिचालन भइरहेको निष्कर्ष सुरक्षा निकायले निकालेका छन्।

सरकार भने कुनै पनि हालतमा बल प्रयोगको अवस्था नआओस् भन्ने पक्षमा देखिन्छ। झापामा हुने सानो घटनाले समेत मुलुकभर चुनावी माहोल बिगार्न सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ। तर सबैभन्दा ठूलो चुनौती भनेको यहाँ आमनेसामने रहेका दल र नेताहरूको नेतृत्व शैली नै रहेको विश्लेषण गरिएको छ।

एकातर्फ बालेन साह र रवि लामिछानेजस्ता नयाँ पुस्ताका नेता छन्, जसलाई राजनीतिक अनुभवभन्दा बढी आवेगशील र तीव्र प्रतिक्रियाशील मानिन्छ। अर्कोतर्फ, एमाले अध्यक्ष ओलीलाई असहमतिलाई सहजै स्वीकार नगर्ने र आफ्नो एजेन्डाका लागि कठोर निर्णयसमेत गर्न सक्ने नेताका रूपमा हेरिन्छ। दुवै पक्षको शीर्ष नेतृत्वमै संयमताको कमी हुनु सुरक्षाका दृष्टिले सबैभन्दा जटिल अवस्था बनेको छ।

यसको ठीक विपरीत, नेपाली कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्माले देखाएको राजनीतिक शैलीलाई उदाहरणीय मानिएको छ। उनीहरूले पार्टीभित्र आमूल परिवर्तन गरे पनि हिंसा, गालीगलौज वा टकरावको बाटो रोजेनन्। वैधानिक प्रक्रिया र शान्तिपूर्ण विद्रोहमार्फत नेतृत्वलाई चुनौती दिँदै कांग्रेसलाई पुनः चलायमान बनाउने भूमिकामा उनीहरू सफल भए।

त्यसैगरी, नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह संयोजक माधवकुमार नेपाल पनि पछिल्लो समय पहिलेभन्दा बढी संयमित देखिएका छन्। चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिले उनीहरूलाई आक्रामकभन्दा हिसाबी बन्न बाध्य पारेको राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ।

समग्रमा, झापा–५ अब केवल एउटा निर्वाचन क्षेत्र होइन, मुलुकको समग्र राजनीतिक स्थिरता र आगामी शक्ति सन्तुलनको परीक्षणस्थल बन्दै गएको छ।

प्रतिक्रिया