ललितपुरमा रास्वपाको दुई दिने सांसद अभिमुखीकरण कार्यक्रम : यस्तो छ कार्यतालिका

साझा लाल्टिन संवाददाता

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे दक्ष बनाउन आजदेखि दुई दिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु गरेको छ।

‘परिवर्तनको नेतृत्व, परिणामको राजनीति’ भन्ने मूल नारासहित ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरिएको कार्यक्रममा सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने लक्ष्य लिइएको पार्टीले जनाएको छ।

कार्यक्रममा संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, सुशासन, पारदर्शिता तथा जनप्रतिनिधिको भूमिकाबारे विस्तृत प्रशिक्षण दिइनेछ।

पहिलो दिन: संसदीय अभ्यासमा केन्द्रित

कार्यक्रमको पहिलो दिन पार्टी नेतृत्वबाट औपचारिक उद्घाटन गरिएको छ। उपसभापति डा. स्वर्णिम वाग्लेले किनोट मन्तव्य दिँदै देशको वर्तमान अवस्था र सांसदको भूमिकाबारे धारणा राख्नेछन् भने अर्का उपसभापति डोलप्रसाद अर्यालले चुनावी अनुभव साझा गर्नेछन्।

पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणालीबारे प्रशिक्षण दिनेछन् भने पूर्व कानुन सचिव तोयानाथ अधिकारीले कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाबारे जानकारी गराउनेछन्।
यसैगरी, डा. दोभान राईले लोकतन्त्र र सुशासनमा कृत्रिम बुद्धिमत्ताको प्रभावबारे प्रस्तुति दिनेछिन्।

पार्टीका पुराना सांसदहरू अशोक चौधरी, शिशिर खनाल, डा. तोसिमा कार्की, सोबिता गौतम र गणेश पराजुलीले आफ्ना अनुभव नवनिर्वाचित सांसदहरूसँग साट्ने कार्यक्रम छ।

दोस्रो दिन: बजेट, सुशासन र रणनीति

चैत्र ४ गते हुने दोस्रो दिनको कार्यक्रम योग तथा ध्यानबाट सुरु हुनेछ। सो दिन विशेषगरी योजना तथा बजेट निर्माण, सुशासन र पार्टी रणनीतिमा केन्द्रित रहनेछ।

पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले बजेट निर्माण प्रक्रिया र पूर्वसचिव प्रताप कुमार पाठकले सुशासनबारे प्रशिक्षण दिनेछन्।
महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदको आचारसंहिता र पार्टीसँगको सम्बन्धबारे स्पष्ट पार्नेछन्। साथै, सांसदहरूले समूहगत रूपमा आगामी एजेन्डाको प्राथमिकता निर्धारण गर्नेछन्।

कार्यक्रमको अन्त्यमा पार्टी सभापति रवि लामिछानेले पार्टीको आगामी रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे समापन मन्तव्य दिने तालिका रहेको छ।

रास्वपाले यस कार्यक्रममार्फत सांसदहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्दै जनताको अपेक्षालाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

अभिमुखीकरण तालिका 





प्रतिक्रिया