८ पुस, काठमाडौं - नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले महाधिवेशन नगरी निर्वाचनमा जाने पार्टीभित्रको सोचलाई गम्भीर राजनीतिक भूलको संज्ञा दिएका छन् । कांग्रेसले आन्तरिक लोकतन्त्र छाडेर चुनावी मैदानमा होमिए सर्मनाक हार निश्चित हुने उनको ठोकुवा छ ।
आइतबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले संसद पुनर्स्थापनाको बहानामा महाधिवेशन लम्ब्याउने निर्णय झनै प्रत्युत्पादक हुने बताए । उनका अनुसार पार्टीलाई चलायमान बनाउने, नेतृत्व नवीकरण गर्ने र कार्यकर्तामा उत्साह भर्ने एकमात्र माध्यम नै महाधिवेशन हो ।
‘अधिवेशन नगरी चुनावमा जानु भनेको पराजयलाई निम्तो दिनु हो,’ पौडेलले भने, ‘यदि अधिवेशन गरेर बढी सिट जित्न सकिन्छ भने रणनीतिक रूपमा पनि त्यसैमा जानुपर्छ ।’
उनले नेकपा एमालेले समयमै महाधिवेशन सम्पन्न गरेर सकारात्मक सन्देश दिएको उदाहरण दिँदै कांग्रेस अझै टारिरहनु लाजमर्दो हुने बताए । ‘एउटा कम्युनिस्ट पार्टीले अधिवेशन गरेर देखाइसक्यो । अब कांग्रेसले नगर्नु भनेको आफैंलाई कमजोर प्रमाणित गर्नु हो,’ उनले टिप्पणी गरे ।
पार्टीलाई समयअनुकूल अद्यावधिक गर्न नसक्ने नेतृत्वले देश हाँक्न सक्छ भन्ने विश्वास जनता र कार्यकर्ताले नगर्ने पौडेलको तर्क छ । ‘आफ्नै विधानअनुसार पार्टी चलाउन नसक्नेहरूले देश चलाउँछु भन्नु हास्यास्पद हुन्छ,’ उनले प्रश्न गरे ।
महाधिवेशन टार्ने प्रवृत्तिलाई पौडेलले पदको लोभ र परिवर्तनप्रतिको डरको परिणाम बताए । ‘अधिवेशन नगरे पद ओगटेर बस्ने, परिवर्तन नचाहने मानसिकता देखिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा पार्टी चुनावको मुखमा भए पनि न त चलायमान हुन्छ, न त उत्साह पैदा हुन्छ ।’
कांग्रेसभित्र महाधिवेशनको बहस तीव्र भइरहँदा पौडेलको यो अभिव्यक्तिले नेतृत्वमाथि थप दबाब सिर्जना गर्ने संकेत देखिएको छ ।