आयोगको फैसला आएलगत्तै कांग्रेसभित्र उत्सव, गगन थापाले लगाए दुवो–गुलाबका माला

साझा लाल्टिन संवाददाता

३ माघ, काठमाडौं -  निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। आयोगको निर्णयलाई राजनीतिक ‘विजय’का रूपमा प्रस्तुत गर्दै बैठकस्थल नै उत्सवमा परिणत गरिएको छ।

सभापति गगन थापासहित केन्द्रीय समिति सदस्यहरू माला र टीकासहित बैठकमा सहभागी भएका छन्। निर्णय आफ्नो पक्षमा आएपछि नेतृत्व तहले खुला रूपमा ‘जितको सन्देश’ दिन खोजेको स्पष्ट देखिन्छ।

सभापति थापाले दुवो र गुलाबबाट बनेका दुईवटा आकर्षक माला लगाएका छन् भने निधारमा रातो टीका सजाएका छन्। उपसभापति विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरूले सयपत्री र चमेली फूल मिसिएको विशेष प्रकारको माला लगाएका छन्। केन्द्रीय सदस्यहरू भने सामान्य सयपत्री फूलको माला लगाएर बैठकमा बसेका छन्।

गगन थापा समूहले माला लगाएर शक्ति प्रदर्शन गरेको यो दोस्रो अवसर हो। यसअघि विशेष महाधिवेशनबाट निर्वाचित भएपछि पनि यही शैलीमा विजय उत्सव मनाइएको थियो।

निर्वाचन आयोगको निर्णयलाई केवल कानुनी मान्यता मात्र नभई राजनीतिक वैधता र नेतृत्वको जितका रूपमा स्थापित गर्न थापा समूह आक्रामक ढंगले प्रस्तुत भएको देखिन्छ।

प्रतिक्रिया