२७ फागुन,काठमाडौं - गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दिपक मनाङे) जेल सजाय पूरा गरेर बुधबार रिहा भएका छन्।
डिल्लीबजार कारागार प्रशासनका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई कारागारबाट मुक्त गरिएको हो।
मनाङेमाथि २०६१ साल वैशाखमा चक्रे मिलन माथि खुकुरी प्रहार गरेको आरोपमा ‘ज्यान मार्ने उद्योग’ मुद्दा चलेको थियो। उक्त घटनापछि अदालतले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो। बाँकी रहेको सजाय भुक्तान गरेपछि उनी कारागारबाट बाहिरिएका हुन्।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा मनाङ जिल्लाबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका थिए। तर उनीमाथि चलिरहेको मुद्दामा उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय कायम गरेपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।
अन्ततः ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएपछि उनी प्रदेशसभा सदस्य पदका लागि अयोग्य बनेका थिए। साथै, अदालतको निर्णयअनुसार उनी आगामी ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।