अन्तर्राष्ट्रिय राजनीतिमा मौलाउँदै गएको ‘फेक पपुलिज्म’को नेपाली संस्करणका रूपमा बालेन साह उदाइरहेका छन् । काठमाडौँ महानगरका मेयर पदबाट राजीनामा दिएर प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा बोकेका बालेनको कार्यशैली र प्रवृत्ति दुवै मुलुकका लागि चेतावनी बनेको विश्लेषकहरूको ठहर छ ।
गरिब, सिमान्तकृत र श्रमिकलाई हेय दृष्टिले हेर्ने, कवाड व्यवसायीलाई ‘मान्छे’ नै नठान्ने बालेनले काठमाडौँमा डोजर आतंक मच्चाए । तर आज उनै बालेन मधेश पुगेर संघीयताको ध्वाँस लगाउँदै ‘मसिहा’ बन्ने नाटक गरिरहेका छन् । पहिचानलाई राजनीतिक हतियार बनाउँदै मत बटुल्ने यो दोहोरो चरित्रलाई विश्लेषकहरूले ‘अट्रेक्सन पोलिटिक्स’ भनेका छन्— अभिनय सकिएपछि समाप्त हुने प्रेम ।
अझ गम्भीर कुरा त के छ भने, सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछानेसँग कुम जुधाएर बालेन कुन स्वार्थ पूरा गर्न खोजिरहेका छन् भन्ने प्रश्न झनै चर्किएको छ । कालो पोशाक र स्टन्ट–राजनीतिले मुलुक चल्छ कि भीड उक्साएर सत्ता कब्जा गर्ने सपना देखिएको हो ?
झापा–५ मा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका बालेनको प्रस्तुति नेता भन्दा ‘ग्याङस्टार’ शैलीको देखिएको टिप्पणी भइरहेका बेला जनतासामु निर्णायक प्रश्न खडा भएको छ— ओली प्रवृत्ति र बालेन प्रवृत्ति के साँच्चै समाजका लागि लाभदायी छन् ?
जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको पृष्ठभूमिमा ओलीको दमनकारी सत्ता–शैली र बालेनको भीड उक्साउने स्टाटस–राजनीतिलाई एउटै सिक्काका दुई पाटा भनिँदै आएको छ । सिंहदरबार जलाउने अभिव्यक्ति र सडकमा आगो बाल्ने उक्साहटले देशलाई कहाँ पुर्याउँछ भन्ने उदाहरण त हामीले भोगिसकेका छौँ ।
विश्लेषकहरूको चेतावनी स्पष्ट छ— ‘बा र बालेन’ सत्तामा पुगे भने मुलुक अर्को दुर्घटनामा पर्नेछ । त्यसैले अब झापाली जनतासामु ऐतिहासिक अवसर छ— सन्की सत्ता–खेल खेल्ने यी दुई पात्रलाई ‘नो भोट’ मार्फत् जनकारबाही गर्ने ।
यो चुनाव व्यक्ति होइन, प्रवृत्तिविरुद्धको जनफैसला हुनुपर्छ ।