बालेन शाहसहित पाँच उम्मेदवार आयोगको घेरामा, आचारसंहिता उल्लङ्घनको आरोप

साझा लाल्टिन संवाददाता

१३ माघ, काठमाडौं - निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा निर्वाचन आयोगले पाँच जना उम्मेदवार र दुई वटा सङ्घसंस्थालाई स्पष्टीकरण सोधेको छ ।

आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नं. ५ का रास्वपा उम्मेदवार बालेन शाहसहित पाँच उम्मेदवारमाथि आचारसंहिता विपरीत गतिविधि गरेको आरोप लागेको हो ।

बालेन शाहले सामाजिक सञ्जालमा झापा–५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘हत्यारा’ शब्द प्रयोग गरी टिप्पणी गरेको विषयमा आयोगले स्पष्टीकरण मागेको जनाएको छ ।

रुपन्देही–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका निकोसल भुसाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । उनले जेनजी आन्दोलनसँग सम्बन्धित जुत्तालाई आफ्नो चुनाव चिन्ह जस्तो देखाएर प्रचार गरेको आरोप लागेको छ ।

सुनसरी–१ का श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको र टिसर्ट लगाउन लगाएर आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले उनीसँग पनि जवाफ मागेको छ ।

भक्तपुर–२ का एमाले उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेको विषयमा स्पष्टीकरण सोधिएको छ । त्यही क्षेत्रकी अर्की उम्मेदवार जानुका पाठक (शोभा पाठक) ले प्रतिस्पर्धी उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गर्दै ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरेको आरोपमा आयोगले उनीसँग पनि जवाफ मागेको जनाएको छ ।

उता, स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा सङ्घलाई स्पष्टीकरण सोधिएको छ । साथै शिक्षक सरुवासम्बन्धी एक अर्को प्रकरणमा पनि आयोगले स्पष्टीकरण मागेको जानकारी दिएको छ ।

प्रतिक्रिया