७ माघ, काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश चलाउन विदेशी शक्तिहरू सक्रिय भएको खुला आरोप लगाउँदै त्यसको निर्णायक जवाफ रुकुमको धर्तीबाटै दिने चेतावनी दिएका छन्।
रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, अब देशको भाग्य बाहिरबाट होइन, जनताकै बलबाट तय हुन्छ। विदेशी हस्तक्षेपलाई रुकुमबाटै परास्त गरिन्छ।
उनले दाङ,रोल्पा,रुकुम पूर्व हुँदै हुकाम र मैकोटलाई डोल्पाको सहर तारासँग जोडेर चीनसम्म पुग्ने व्यापारिक मार्ग निर्माण गर्ने ठोस योजना सार्वजनिक गर्दै रुकुम पूर्वलाई विकासको नयाँ केन्द्र बनाउने उद्घोष गरे।
रुकुम पूर्व हिमाली जिल्ला भइसकेकाले यसलाई ‘विशेष स्वायत्त प्रदेश’ बनाउने पहल आफूले अघि बढाउने भन्दै उनले भने, रुकुम अब पछाडि होइन, देशको नेतृत्व गर्ने मोडल बन्छ।
आफू जहाँबाट लड्यो, त्यहीँको मुहार फेरेको दाबी गर्दै प्रचण्डले विरोधीहरूलाई भाषणबाट होइन, कामबाटै जवाफ दिने जिकिर गरे।
देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन आफू पुनः जनयुद्धको आधारभूमि रुकुम फर्किएको दोहोर्याउँदै उनले स्पष्ट पारे, मेरो उम्मेदवारी संसद् प्रवेशका लागि होइन, देशलाई नयाँ राजनीतिक दिशामा लैजानका लागि हो।
देशभरिको ध्यान आफूमाथि केन्द्रित भएको उल्लेख गर्दै उनले भने, म रुकुम आउनुको अर्थ केवल सहर र सडक होइन, यो समग्र देशलाई शान्तिपूर्ण अठोटतिर लैजाने निर्णायक कदम हो।
जेनजी भदौ २४ को आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण भदौ २६ गते रातभर छलफल गरेर संसद् विघटन र चुनावमा जाने निर्णय गरिएको खुलासा गर्दै प्रचण्डले भने, देशलाई ठूलो दुर्घटनाबाट जोगाउन ताजा जनादेश अपरिहार्य थियो।
माओवादी सशस्त्र युद्धकालमा चुनबाङ बैठकले शान्ति प्रक्रियाको यात्रा सुरु गराएको स्मरण गर्दै उनले अब रुकुम पूर्वले समाजवादको यात्राको नेतृत्व गर्ने दाबी गरे।
अन्त्यमा प्रचण्डको कडा सन्देश थियो रुकुम फेरि इतिहास लेख्न तयार छ। अब देशको दिशा यहीँबाट बदलिन्छ।