२९ मंसिर, काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचन सफल बनाउन सरकारले राजनीतिक दलहरूसँग गम्भीर र निरन्तर संवाद गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
आज बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफूहरू निर्वाचनको पक्षमा रहे पनि सरकार र दलहरूबीच अपेक्षित स्तरको समन्वय र वार्ता हुन नसकेको बताए।
उनले सरकारको भूमिकाप्रति टिप्पणी गर्दै भने, “अहिले न त सरकारले निर्वाचनको अनुकूल वातावरण बनाएको छ भन्न मिल्छ, न त निर्वाचन नै बिथोलिएको छ भन्न सकिने अवस्था छ।”
नेता नेपालका अनुसार पार्टीहरू चुनावको तयारीमा जुटिरहेका छन् तर सरकार र राजनीतिक दलहरूबीचको संवाद कमजोर देखिएको छ।
जेनजी आन्दोलनपछि राजनीतिक दलहरूप्रति जनसमर्थन घटेको भन्ने धारणा गलत रहेको दाबी गर्दै उनले पछिल्ला दलगत कार्यक्रमहरूमा देखिएको सहभागिताले त्यसलाई खण्डन गरेको बताए। नेपाली जनता अझै पनि राजनीतिक आस्थासँग जोडिएको उल्लेख गर्दै उनले निर्वाचनका लागि सरकारको सक्रिय पहल अपरिहार्य भएको बताए।
वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता नेपालले “देश साँच्चै निर्वाचनतर्फ जान सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ” भन्दै समयमै संवाद र सहमति आवश्यक रहेको जोड दिए।