रास्वपा भन्छ: महिनौँ लाग्ने काम छिटो बनाउन अध्यादेश आवश्यक
साझा लाल्टिन संवाददाता
29 April 2026
वैशाख १६, काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएका अध्यादेशहरू जनताले दैनिक रूपमा भोगिरहेका ढिलासुस्ती र झन्झटिला प्रक्रियालाई तुरुन्तै समाधान गर्नका लागि आवश्यक कदम भएको स्पष्ट पारेको छ।
सिंहदरबारमा सभापति रवि लामिछानेसहित सांसदहरूको अनौपचारिक छलफलपछि महामन्त्री तथा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले सरकारले कुनै व्यक्ति वा दललाई फाइदा पुग्ने उद्देश्यले नभई काम छिटो गराउने लक्ष्यका साथ अध्यादेश ल्याएको बताएका हुन्।
उनका अनुसार, अहिलेको कानुनी प्रक्रियाका कारण सानो काम पनि ३–६ महिनासम्म लम्बिने अवस्था छ, जुन जनताको अपेक्षाविपरीत छ।
‘जनताले तुरुन्त काम होस् भन्ने चाहन्छन्, तर प्रक्रिया यति झन्झटिलो छ कि सडकको बीचमा रहेको एउटा रुख काट्नसमेत महिनौँ लाग्छ,’ उनले भने, ‘यस्तो ढिलाइ हटाएर कामलाई छिटो, सहज र प्रभावकारी बनाउन अध्यादेश ल्याइएको हो।’
रास्वपाले स्पष्ट पारेको छ कि यी अध्यादेश प्रशासनिक जटिलता हटाएर सेवा प्रवाहलाई छरितो बनाउनेतर्फ केन्द्रित छन्, न कि कुनै व्यक्ति वा राजनीतिक दललाई लाभ पुर्याउनेतर्फ।