गगन थापाको चेतावनी - सरकार आफ्नै बहुमतबाट पनि अविश्वासी, पेलेर जाने सोच नबनाउनू

साझा लाल्टिन संवाददाता

वैशाख १६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार आफ्नै बहुमत भएको संसद्प्रति पनि विश्वस्त नभएको आरोप लगाएका छन् । रौतहटमा पार्टी कार्यकर्तासँगको भेटमा उनले सरकारको शैलीप्रति कडा असन्तुष्टि व्यक्त गरे ।

थापाका अनुसार प्रतिनिधिसभाको बैठक मिति तोकेर आह्वान गरिए पनि पछि कुनै सूचना नदिई स्थगित गर्नु संसद् र जनताको अपमान हो । उनले संसद् चलिरहेका बेला अध्यादेश ल्याइनु पनि सरकारको असंवैधानिक र अविश्वासपूर्ण कदम भएको टिप्पणी गरे ।

उनले संवैधानिक परिषद्सम्बन्धी विषयमा प्रधानमन्त्रीले आफ्नो अनुकूल निर्णय गर्न खोजिरहेको दाबी गरे । अघिल्ला सरकारहरूले पनि यस्ता प्रयास गरे पनि कांग्रेसले सधैं विरोध गरेको उनले स्मरण गराए ।

थापाले प्रमुख प्रतिपक्ष दलका रूपमा कांग्रेसले यस्ता गतिविधि स्वीकार नगर्ने भन्दै सरकारलाई एकलौटी र दमनकारी शैली त्यागेर प्रक्रिया र विधिअनुसार अघि बढ्न सुझाव दिएका छन् ।

प्रतिक्रिया