काठमाडौं महानगरका मेयर बालेन शाहले आज पद त्याग्दै

साझा लाल्टिन संवाददाता

४ माघ, काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजै पदबाट राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार मेयर शाहले आफ्नो राजीनामा उपमेयर सुनिता डंगोललाई बुझाउने कार्यक्रम तय भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा वरिष्ठ नेताका रूपमा प्रवेश गरिसकेका शाह प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते मनोनयन दर्ता हुने भएकाले त्यसअघि नै उनले मेयर पदबाट बाहिरिन लागेका हुन्।

मेयर पदबाट राजीनामा दिएपछि शाह भोलि पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर जाने कार्यक्रम रहेको छ। जनकपुरमा रास्वपाको मधेस प्रदेश कमिटीले विस्तारित भेला आयोजना गर्दैछ। उक्त भेलामा प्रदेश समितिका पदाधिकारी, सदस्य तथा मधेसका आठवटै जिल्लाका जिल्ला सभापतिहरू सहभागी हुनेछन्।

रास्वपा मधेस प्रदेश सभापति तपेश्वर यादवका अनुसार सोही क्रममा शाह महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत एकडारा गाउँपालिकामा रहेको आफ्नो पुर्ख्यौली घरसमेत जाने तयारीमा छन्। हाल उक्त घरमा उनका आफन्त वा परिवारका सदस्यको बसोबास छैन। एकडारा गाउँपालिकाले सो घर भाडामा लिएर प्रशासकीय प्रयोजनमा प्रयोग गरिरहेको छ।

पुर्ख्यौली क्षेत्रमा पुग्दा स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गर्ने गरी सानो कार्यक्रमको तयारी भइरहेको यादवले जानकारी दिए। यसैबीच जनकपुरमै ठूलाे सभा आयोजना गर्ने तयारीसमेत अघि बढाइएको उनले बताए।

प्रतिक्रिया