वैशाख १६ , काठमाडौँ
स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले आफ्नो सम्पत्ति विवरण आफैं सार्वजनिक गरेका छन्। संसद सचिवालयले विवरण सार्वजनिक नगर्ने आशंका लागेपछि उनले सामाजिक सञ्जालमार्फत खुलासा गरेका हुन्।
उनले सार्वजनिक गरेको विवरण अनुसार आफ्नो नाममा चार टुक्रा जग्गा भए पनि घर भने नरहेको बताएका छन्। हाल आफू भाडाको घरमा बस्दै आएको उनको भनाइ छ। उनको स्थायी ठेगाना चितवनको राप्ती नगरपालिका–८ खुरखुरे टोल भए पनि अहिले कास्कीको हमालटोलमा बसोबास गरिरहेका छन्।
पुनका अनुसार कास्कीको माझठाना गाउँपालिका–७ मा रहेका चारवटा जग्गा २०५२ सालमै करिब ४ लाख रुपैयाँमा किनिएका हुन्, जसको कुल क्षेत्रफल करिब ४ रोपनी ६ आना रहेको छ। ती जग्गा बिक्रीमा राखिए पनि अहिलेसम्म नबिकेको उनले जानकारी दिएका छन्।
उनको सम्पत्तिमा ३ तोला सुन पनि समावेश छ, जुन २०६० सालमा किनेको र परिवारलाई उपहारस्वरूप प्राप्त भएको उनले बताएका छन्। बैंक खातामा भने करिब २९ लाख रुपैयाँ नगद रहेको छ, जसमा अधिकांश रकम चुनावी सहयोगबाट बचत भएको हो। उक्त रकम बेनीस्थित सम्पर्क कार्यालय सञ्चालनमा खर्च भइरहेको उनले बताएका छन्।
उनले आफूसँग कुनै सवारी साधन र सेयर लगानी नरहेको पनि स्पष्ट पारेका छन्। आफ्नो आत्मकथा बिक्रीबाट आएको रकम भने राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गर्दै आएको उनको भनाइ छ।
पुनले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफ्नो नाममा ठूलो धनराशी जम्मा गरेको भन्ने आरोपको खण्डन गरेका छन्। साथै, भौतिक सम्पत्तिभन्दा ठूलो सम्पत्ति देश–विदेशमा रहेका आफ्ना सहयोगीहरू नै भएको उनले उल्लेख गरेका छन्।