काठमाडौं - गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार वैशाख १६ गते बुधबार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। हावाहुरी बेलुका करिब ५:४५ बजेदेखि सुरु भई पर्सि बिहान ५:४५ बजेसम्म रहने अनुमान गरिएको छ।
यस अवधिमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित वर्षा हुने सम्भावना समेत रहेको जनाइएको छ। तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्राधिकरणको चेतावनी छ।
प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै हावाहुरीका बेला घरबाहिर ननिस्कन, झ्याल–ढोका सुरक्षित राख्न, कमजोर संरचना नजिक नजान, विद्युत् तारबाट टाढा रहन तथा उड्ने वस्तुबाट बच्न अनुरोध गरेको छ।
साथै, मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिँदै सुरक्षित रहन पनि सबैमा आग्रह गरिएको छ।
