१० पुस, काठमाडौं - मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका चर्चित क्रिकेटर मिनष थापाको निधन भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो।
विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
स्वर्गीय थापा कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटरका रूपमा चिनिन्थे। उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका थिए भने कोशी प्रदेशबाट विभिन्न फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाएका थिए।
25 December 2025