६ वैशाख, काठमाडौं,
काठमाडौं प्रहरीले घरधनीहरूलाई आफ्ना डेरामा बस्ने व्यक्तिहरूको विवरण अद्यावधिक राख्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवन कुमार भट्टराईका अनुसार अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन र कुनै घटना घटेमा संलग्न व्यक्तिको पहिचान सहज बनाउन यस्तो अनुरोध गरिएको हो ।
उनका अनुसार धेरैजसो अवस्थामा एउटै घरमा वर्षौँदेखि डेरा गरेर बस्ने व्यक्तिहरू भए पनि कुनै घटना भएपछि घरधनीलाई सोध्दा उनीहरूको वास्तविक जानकारी नहुने समस्या देखिएको छ ।
“कम्तीमा यस्ता समस्या नदोहोरियोस् भनेर भाडामा बस्नेहरूको विवरण राख्न अनुरोध गरेका हौं,” एसपी भट्टराईले भने, “यो अनिवार्य होइन, केवल सहयोगका लागि गरिएको आग्रह हो।”
प्रहरीका अनुसार आवश्यक परेमा घरधनीहरूले भाडामा बस्ने व्यक्तिबाट प्रहरी क्लियरेन्स रिपोर्टसमेत माग गर्न सक्नेछन्, जसले उनीहरूको पृष्ठभूमि बुझ्न मद्दत गर्छ।
यसरी विवरण व्यवस्थित राखिएमा अपराध अनुसन्धानमा सहजता हुने मात्र होइन, निर्दोष व्यक्तिहरू अनावश्यक प्रहरी सोधपुछ र झन्झटबाट समेत जोगिन सक्ने प्रहरीको भनाइ छ।