काठमाडौं - उज्यालो नेपाल पार्टीले जेन जी आन्दोलनसँग सम्बन्धित घटनाबारे गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता डा. राजु थापाद्वारा जारी प्रेस वक्तव्यमा उक्त आयोगले प्रतिवेदन सरकारलाई बुझाइसके पनि हालसम्म सार्वजनिक नगरिनु दुःखद, चिन्ताजनक र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरिएको छ।
वक्तव्यमा भनिएको छ कि प्रतिवेदन सार्वजनिक नगर्दा नागरिक तहमा अन्योल, शंका र असन्तोष बढ्नुका साथै राज्यप्रतिको विश्वासमा समेत कमी आउने खतरा रहेको छ। पीडित, घाइते, मृतकका परिवार तथा आन्दोलनमा संलग्न नागरिकले सत्य, न्याय र जवाफदेहिताको अपेक्षा गरिरहेको अवस्थामा प्रतिवेदन गोप्य राखिनु उचित नहुने पार्टीको ठहर छ।
उज्यालो नेपाल पार्टीले सत्य सार्वजनिक गरेर मात्रै न्याय, सुधार र सामाजिक विश्वास कायम हुने विश्वास व्यक्त गर्दै जाँचबुझ आयोगका प्रतिवेदनहरू सार्वजनिक सरोकार, जिम्मेवारी निर्धारण र संस्थागत सुधारका लागि आधार बन्नुपर्नेमा जोड दिएको छ।
पार्टीले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ। जसमा प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, ढिलाइबारे स्पष्ट जानकारी र समयसीमा दिने, निष्कर्षका आधारमा जिम्मेवारमाथि कारबाही गर्ने, पीडितलाई न्याय र परिपूरण सुनिश्चित गर्ने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुधारात्मक योजना ल्याउने माग समावेश छन्।
उज्यालो नेपाल पार्टीले यस विषयलाई केवल प्रतिवेदन सार्वजनिक गर्ने प्रश्न नभई लोकतान्त्रिक शासन, सार्वजनिक उत्तरदायित्व र नागरिक विश्वाससँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै सरकारलाई यथाशीघ्र कदम चाल्न आग्रह गरेको छ।
