३० चैत,काठमाडौं,
नेपाल पत्रकार महासंघले महिला केन्द्रीय सदस्यलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आफ्ना केन्द्रीय सदस्य विकास बन्जाडेलाई निलम्बन गरेको छ।हेटौंडामा जारी पूर्ण बैठककै क्रममा घटना सार्वजनिक भएपछि उनलाई रातारात जिल्ला फर्काइएको र बाटोमै निलम्बनको निर्णय गरिएको महासंघले जनाएको छ।
महासंघका सचिव रमेश खतिवडाद्वारा जारी विज्ञप्तिअनुसार बन्जाडेमाथि नैतिक आचरणसम्बन्धी गम्भीर प्रश्न उठेकाले केन्द्रीय समितिको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो।
शुक्रबार राति हेटौंडामा आयोजित खानपिन कार्यक्रमपछि बन्जाडेले एक महिला केन्द्रीय सदस्यको संवेदनशील अंग छोएको आरोप लागेको छ। उक्त घटनापछि बैठकस्थलमै चर्को असन्तुष्टि देखिएको थियो। त्यसलगत्तै महासंघ नेतृत्वले उनलाई हेटौंडाबाट बाहिर पठाउँदै अनुशासनात्मक कारबाही अघि बढाएको जनाएको छ।
बन्जाडेमाथि यसअघि पनि पत्रकारिताको आवरणमा विभिन्न विवादास्पद गतिविधिमा संलग्न हुने आरोप लाग्दै आएको थियो। गृहजिल्ला कपिलवस्तुमा समेत पत्रकारिता कर्मका क्रममा उनका केही विवादित गतिविधि सार्वजनिक भइसकेका थिए।
महासंघले घटनाबारे थप छानबिन गरी आवश्यक थप निर्णय लिने संकेत दिएको छ।