अनिवार्य श्रम र ६ महिने सैनिक तालिमको प्रस्तावसहित हर्क साम्पाङको ‘हर्कवाद’ सार्वजनिक

साझा लाल्टिन संवाददाता

४ फागुन,काठमाडौं - हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

घोषणापत्रमा “हर्कवाद” नाम दिइएको नयाँ राजनीतिक दर्शनमार्फत श्रमलाई राष्ट्रिय पुनर्जागरणको केन्द्रीय आधार बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

पार्टीले अनिवार्य श्रम र श्रमदानलाई देशव्यापी अभियानका रूपमा अघि बढाउने घोषणा गर्दै, श्रमबिना समृद्धि सम्भव नहुने धारणा सामाजिक, शैक्षिक, आर्थिक र राजनीतिक संरचनामा कार्यान्वयन गरिने जनाएको छ। अल्छीपन, भ्रष्टाचार, विभेद, गरिबी र परनिर्भरताको अन्त्यका लागि श्रम संस्कृतिको विकास अपरिहार्य रहेको घोषणापत्रमा उल्लेख छ।

शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था प्रस्ताव गरिएको छ। पाँच वर्षे कार्यकाल रहने र कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने प्रावधान राखिएको छ। संघीय संसद दुई सदनात्मक तथा प्रदेश तहमा एक सदनात्मक व्यवस्था गर्ने योजना अघि सारिएको छ।

आर्थिक क्षेत्रमा कृषि, उद्योग, जडीबुटी, खानी, ऊर्जा र प्रविधिमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको छ। कृषिलाई उच्च प्राथमिकतामा राख्दै बजेट वृद्धि, उन्नत बीउ–मल उत्पादन, सिंचाइ विस्तार, सामुदायिक खेती प्रवर्द्धन तथा कृषि उद्योग स्थापना गरिने उल्लेख छ। आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई दीर्घकालीन रणनीतिका रूपमा अघि बढाइने जनाइएको छ।

शिक्षा क्षेत्रमा जीवनोपयोगी र व्यवहारिक प्रणाली लागू गर्ने योजना सार्वजनिक गरिएको छ। हप्तामा तीन दिन सैद्धान्तिक अध्ययन र चार दिन व्यवहारिक श्रम, उत्पादन, खेलकुद तथा सीपमूलक तालिम सञ्चालन गरिने प्रस्ताव छ। कक्षा १२ पछि अनिवार्य ६ महिनाको सैनिक तालिम पनि समावेश गरिएको छ। युवालाई राजनीतिक दुरुपयोगबाट टाढा राखी उत्पादन, निर्माण र आविष्कारमा केन्द्रित गरिने नीति लिइएको छ।

स्वास्थ्यतर्फ आधारभूत सेवा निःशुल्क उपलब्ध गराउने, स्वास्थ्य तथा शिक्षा बीमा विस्तार गर्ने, वृद्ध र अपाङ्ग भत्ता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। श्रमिक, किसान, मजदुर तथा न्यून आय वर्गका लागि विशेष सुविधा कार्यक्रम ल्याइने जनाइएको छ।

डिजिटल आर्थिक प्रणाली लागू गरी अवैध तथा स्रोत नखुलेको सम्पत्ति नियन्त्रण र जफत गर्ने योजना समेत घोषणापत्रमा समेटिएको छ। सरकारी बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने, अनावश्यक खर्च कटौती गर्ने र मितव्ययी शासन प्रणाली अवलम्बन गर्ने प्रतिबद्धता जनाइएको छ। पार्टीका एक नेताका अनुसार घोषणापत्र औपचारिक रूपमा छिट्टै सार्वजनिक गरिनेछ।

प्रतिक्रिया