२८ फागुन,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गरिसकेको भए पनि त्यसलाई औपचारिक रूपमा कार्यान्वयन गर्न पार्टीको विधान नै संशोधन गर्नुपर्ने अवस्था देखिएको छ।
रास्वपाको विधानमा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था चुनावअघि नै आन्तरिक निर्वाचनमार्फत तय गर्नुपर्ने उल्लेख गरिएको छ। तर, पार्टीले व्यवहारमा भने सहमतिका आधारमा बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ, जसले विधानमा उल्लेखित प्रक्रियासँग मेल खाँदैन।
विधानको धारा ६६ अनुसार प्रतिनिधिसभा निर्वाचनअघि नै प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूमध्ये इच्छुक व्यक्तिहरूबीच निर्वाचन गराएर संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ। सो निर्वाचनमा पार्टीका सबै साधारण सदस्य मतदाता हुने प्रावधान पनि राखिएको छ।
तर, चुनावअघि रास्वपाले प्रत्यक्षतर्फ प्राइमरी निर्वाचन गर्न सकेन। बालेन समूहसँगको एकीकरणपछि उम्मेदवार चयन प्रक्रिया सहमतिमै टुंग्याइयो। समानुपातिकतर्फ पनि आंशिक रूपमा मात्रै प्राइमरी गरिएको थियो।
यस कारण पार्टीले बालेनलाई भावी संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्दा विधानअनुसारको प्रक्रिया पूरा हुन सकेन। त्यसैले अहिले उक्त निर्णयलाई औपचारिक बनाउन विधान संशोधन आवश्यक देखिएको छ।
रास्वपाका एक पदाधिकारीका अनुसार पहिलो महाधिवेशनअघि सम्म पार्टीको केन्द्रीय समितिलाई नै विधान संशोधन गर्ने अधिकार छ। त्यसअनुसार केन्द्रीय समिति बैठक बोलाएर संसदीय दलको नेता चयनसम्बन्धी प्रावधान सच्याउनुपर्ने हुन्छ।
यद्यपि, पार्टीभित्र बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने विषयमा कुनै विवाद छैन। त्यसैले विधान संशोधनपछि संसदीय दलले उनलाई नेता चयन गर्न सहज हुने नेताहरू बताउँछन्।
तर, केन्द्रीय समिति बैठक कहिले बस्ने र त्यसमा बालेन स्वयं उपस्थित हुने वा नहुने भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन। बालेन पक्षबाट केन्द्रीय समितिमा मनोनित सदस्यहरू भने बैठकमा सहभागी हुने बताइएको छ।