२९ मंसिर, काठमाडौं - राष्ट्रिय परिचयपत्र बनाउने क्रममा व्यक्तिगत विवरण हेरफेर गरी स्वीकृति दिएको आरोपमा पञ्जीकरण विभागका एक कर्मचारीसहित दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत कर्मचारी २८ वर्षीय सुनित रेग्मी र ललितपुर बसोबास गर्दै आएका गोरखा नगरपालिका–१० का २८ वर्षीय आशिष बाबु कुमाललाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले गलत नियत राखी प्रणालीमा पहुँच दुरुपयोग गर्दै विवरण सच्याएर परिचयपत्र एप्रुभ गरेका थिए। पञ्जीकरण विभागको युजर आईडी र पासवर्ड प्रयोग गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ अनुसारको कसुर गरेको आरोप उनीहरूमाथि लगाइएको छ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।