दक्षिणी इरानस्थित विद्यालयमा भएको आक्रमणमा मर्ने छात्राको संख्या ६३ पुग्यो

साझा लाल्टिन संवाददाता

काठमाडौं । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका छन् ।

मिन्दाबका गभर्नर मोहम्मद रदमेहरका अनुसार उक्त घटनामा ९२ जना घाइते भएका छन् भने केही विद्यार्थी अझै भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले माइक्रो ब्लगिङ वेबसाइट एक्समामा लेख्दै दक्षिणी इरानको उक्त प्राथमिक छात्रा विद्यालयमा दिनदहाडै, बालबालिकाले भरिएको बेला बम प्रहार गरिएको भनेका थिए 

यस विषयमा प्रतिक्रिया दिँदै अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)का प्रवक्ता टिम हकिन्सले नागरिक क्षतिसम्बन्धी रिपोर्टहरूबारे आफूहरू जानकार रहेको बताएका छन् । उनले भने, ‘हामी यी रिपोर्टहरूलाई गम्भीर रूपमा लिन्छौँ र छानबिन गरिरहेका छौँ । नागरिकको सुरक्षा अत्यन्त महत्वपूर्ण छ र अनपेक्षित क्षति कम गर्न उपलब्ध सबै सावधानी अपनाइरहनेछौँ ।’

उक्त घटनाबारे प्रतिक्रिया लिन सीएनएनले इजरायली सेनासँग पनि सम्पर्क गरेको जनाएको छ । घटनाका विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया