राजावादी शक्तिलाई एकताबद्ध हुन आह्वान - कमल थापा

साझा लाल्टिन संवाददाता

२८ भदौ,काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी शक्तिहरूलाई एकताको आह्वान गरेका छन्। राजनीतिक जीवनमा थुप्रै आरोह अवरोहहरू आइरहने भए पनि कठिन परिस्थितिमा पनि आफ्नो सिद्धान्तबाट विचलित हुनु नहुने बताएका छन्।

उनले भनेका छन्, ‘राजनीतिमा धैर्य र संयमको ठूलो महत्त्व छ। कहिल्यै परिवर्तन नहुने नेपालको भूराजनीति तथा धार्मिक, सामाजिक, सांस्कृतिक परिवेशमा सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्ने ‘संवर्द्धनवाद’को औचित्य र महत्त्व सदैव जीवन्त रहनेछ।’

सत्यलाई आत्मसात् गर्दै परिवर्तित सन्दर्भमा आफ्नो एजेन्डाको रक्षा तथा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने अभियानमा निरन्तर प्रतिबद्ध रहन अपिल गरेका छन्।

उनले अपिल गर्दै भनेका छन्, ‘समयको मागलाई दृष्टिगत गर्दै विगतका सबै तीता घटनाहरूलाई बिर्सेर एकताबद्ध हुन समेत सबै राष्ट्रवादी शक्तिहरूमा आह्वान गर्दछु। हामी सबै एक भयौँ भने युवाहरूको चाहना बमोजिम भोलिको सबल र समृद्ध नेपाल निर्माण गर्ने शक्ति हामी नै बन्नेछौँ।’

प्रतिक्रिया