२० कात्तिक, काठमाडौं - नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कम्युनिष्ट पार्टीको विपक्षमा उभिएका जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालसहितका नेताहरुले वैकल्पिक शक्ति निर्माणको लागि छलफल थालेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित दश घटक शक्तिहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी सहभागी नभएका नेताहरु अर्को छुट्टै शक्ति निर्माणको तयारीमा जुटेका हुन् । आज राजधानीको एक होटलमा भएको छलफलमा भट्टराईले नयाँ शक्ति निर्माणको प्रस्ताव अघि सारेको बताइन्छ । छलफलमा भट्टराई, शर्मा, अर्यालसहित रास्वपा छाडेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, पूर्वमन्त्री सुदन किराँतीलगायत नेताहरुको सहभागिता थियो ।
चुनावको मिति नजिकदै गएको र दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समयसीमा पनि घर्किदै गएको पृष्ठभूमिमा नेताहरु एउटै वैकल्पिक शक्ति बनाएर निर्वाचनमा होमिने गृहकार्यमा लागेको बताइन्छ।
विभिन्न पार्टीबाट अलग भएका नेताहरुमाथि दल दर्ता गर्नु परेमा अबको दश दिनभित्रै गर्नुपर्ने बाध्यता छ।
पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै आयोगले कम्तिमा एक दर्जन नयाँ दलहरु दर्ता हुनसक्ने अनुमान गरेको छ ।