रुपन्देही-३ मा जसपाका श्रीनिवास यादवको उम्मेदवारी फिर्ता, एमालेमा प्रवेश

साझा लाल्टिन संवाददाता

४ फागुन,काठमाडौं - रुपन्देही-३ को प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक समीकरण फेरिएको छ। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार तथा केन्द्रीय सदस्य श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिँदै पार्टी परित्याग गरेका छन्। उनले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत साधारण सदस्यसहित सबै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन्।

यादवले अब आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा समाहित भएको जानकारी दिएका छन्। घरदैलो अभियानमा पुगिसकेको अवस्थामा समेत वर्तमान राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक स्थायित्वका लागि एमाले नै उपयुक्त शक्ति ठानेको उनको भनाइ छ। सोही विश्वासका आधारमा उम्मेदवारी फिर्ता लिएको उनले स्पष्ट पारेका छन्।

विज्ञप्तिमा उनले आफूलाई विश्वास गर्ने मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। रुपन्देही-३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार रहेका छन्।

एमाले प्रवेशपछि उनलाई एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेसहित भुमिश्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी, प्रमोद यादव, हरिप्रसाद अधिकारी, उमा काफ्ले र अनुप बराललगायत नेताहरूले स्वागत गरेका थिए।

प्रतिक्रिया