काठमाडौँ । आम नागरिक मञ्च नेपालका केन्द्रीय अध्यक्ष अर्जुन बोगटीको नेतृत्वमा सयौँ युवाहरू आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा एकीकृत भएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर स्वागत गर्नुभएको थियो।
पार्टी प्रवेश गर्नेहरूमा मञ्चका उपाध्यक्ष युवराज थापा, महासचिव बिष्णु कार्की, सचिव प्रनिशा कटवल, लगाएत आम नागरिक मञ्चका पदाधिकारी सम्पुर्ण केन्दीय समिति तथा सहिद परिवारकी सदस्य इन्द्रकला राईसहित सयौको सङ्ख्यामा ‘जेन–जी’ (Gen Z) पुस्ताका युवाहरू सहभागी थिए ।
कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आम नागरिक मञ्चसँगको एकताले पार्टीलाई नयाँ ऊर्जा दिएको उल्लेख गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार नेकपा नै रहेको स्पष्ट गर्नुभयो। उहाँले युवाहरूको बढ्दो आकर्षणले पार्टीप्रति जनविश्वास अझ बलियो बनेको दाबी गर्नुभयो।
“आजको पुस्ता विचार र भावनालाई बुझ्दै संगठित भइरहेको छ। यो एकता केवल संगठनात्मक मात्र होइन, वैचारिक र भावनात्मक समेत हो,” प्रचण्डले भन्नुभयो।
यस अवसरमा आम नागरिक मञ्चका अध्यक्ष अर्जुन बोगटीले देश परिवर्तनको अभियानलाई अझ सशक्त बनाउन नेकपासँग एकताबद्ध भएको घोषणा गर्दै परिवर्तन चाहने सबै युवाहरूलाई यो अभियानमा जोडिन आह्वान गर्नुभयो।
आजको प्रवेश कार्यक्रमले नेपाली राजनीतिमा युवाको सक्रिय सहभागिता र कम्युनिस्ट आन्दोलनप्रतिको आकर्षण फेरि एकपटक बलियो रूपमा देखाएको विश्लेषण गरिएको छ।



