वीरगञ्ज महानगरपालिकामा झडपपछि अनिश्चितकालीन कर्फ्यु लागू

साझा लाल्टिन संवाददाता

११ फागुन,काठमाडौं - जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा गरेको छ। आइतबार साँझ दुई युवा समूहबीच भएको झडपपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सोमबार बिहान ९:४५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कर्फ्युको दायरा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ। तोकिएको चार किल्लाभित्र सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ।

कर्फ्यु अवधिमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ जस्ता गतिविधि गर्न पाइने छैन। प्रशासनले आदेश उल्लंघन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यद्यपि अत्यावश्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, पूर्वनिर्धारित विश्वविद्यालय परीक्षाका परीक्षार्थी तथा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवार गाडी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारीसाधनलाई सञ्चालनमा सहुलियत दिइएको छ।

यसैगरी वैध हवाई टिकट भएका यात्रुहरूको आवागमनमा पनि सुरक्षाकर्मीले आवश्यक सहजीकरण गर्ने प्रशासनले जनाएको छ।

प्रतिक्रिया