काठमाडौं । ओखलढुंगामा भएको निर्मम हत्या र लुटपाट घटनाले जिल्लालाई नै स्तब्ध बनाएको छ । आफ्नै घरभित्र ७४ वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी अन्दाजी ८० की चन्द्र माया राईको हत्या गरी सुन, नगद र बहुमूल्य सामान लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार योजनाबद्ध रूपमा काठमाडौंबाट आएका आरोपीहरूले लुटपाट गर्ने उद्देश्यसहित घरमै पसी राईको निर्ममतापूर्वक हत्या गरेका थिए । हत्या पश्चात उनीहरूले सुनका गरगहना, नगद रकम, मोबाइल फोन, सिमकार्ड तथा रिचार्ज कार्डसमेत लुटेर फरार भएका थिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को संयुक्त टोलीले काठमाडौंबाट आरोपीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३४ वर्षीय धनबहादुर राना मगर र १७ वर्षीय एक बालक रहेका छन् ।
प्रहरीले उनीहरूको डेराबाट हत्या गर्न प्रयोग गरिएको कोदालो, लुटपाटमा प्रयोग गरिएका मोबाइल, सुनका गहना, नगद रकम तथा अन्य प्रमाणहरू बरामद गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमै उनीहरूले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ ।
हाल पक्राउ परेकामाथि जिल्ला अदालत ओखलढुंगाबाट म्याद थप गरी कर्तव्य ज्यान तथा डाँका चोरीसम्बन्धी मुद्दामा कडा अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा थप संलग्न व्यक्ति भए/नभएको विषयमा पनि अनुसन्धान जारी राखेको जनाएको छ ।