विचारभन्दा व्यक्ति अगाडि सार्ने नयाँ पार्टीहरूको आलोचना
साझा लाल्टिन संवाददाता
01 February 2026
१८ माघ, काठमाडौं -नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्ला दिनमा उदाएका नयाँ पार्टीहरू सत्तामुखी बन्दै गएको टिप्पणी गरेका छन्। उनले विचार र सिद्धान्तभन्दा व्यक्तिलाई केन्द्रमा राख्ने प्रवृत्ति बढ्नु चिन्ताजनक भएको बताए।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले लोकप्रियतावादको नारा उछालेर जनतालाई आकर्षित गर्ने र छिटो सत्तामा पुग्ने मानसिकता नयाँ भनिएका पार्टीहरूको मूल चरित्र बनेको आरोप लगाए। यस्तो प्रवृत्ति कम्युनिस्ट आन्दोलनको मूल्य र मान्यताविपरीत रहेको उनको भनाइ थियो।
उनले विचारको आवश्यकता छैन, नेता र पार्टी भए पुग्छ भन्ने सोच पूँजीवादी संस्कारको उपज भएको उल्लेख गर्दै उपभोगवादी संस्कृतिलाई नै प्राथमिकता दिने प्रयास भइरहेको बताए। “मान्छे देखाउने, भ्रम सिर्जना गर्ने र हतार–हतार सत्तामा पुग्ने सोच लोकप्रियतावाद हो,” उनले भने।
महासचिव चन्दले कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भन्ने प्रचारलाई समेत अस्वीकार गर्दै त्यसलाई नियोजित भ्रमको संज्ञा दिए। उनले वैचारिक स्पष्टता र सिद्धान्तमा आधारित एकता नै आवश्यक भएको धारणा राखे।