निर्वाचन केन्द्रित बालुवाटार छलफल, कार्की–ओलीबीच करिब दुई घण्टा वार्ता

साझा लाल्टिन संवाददाता

२२ माघ, काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब दुई घण्टा लामो भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग समसामयिक राजनीति र निर्वाचनको विषयमा छलफल गरेका हुन्।

ओली निकट स्रोतका अनुसार उनी बिहान ९ बजेपछि बालुवाटार प्रवेश गरेका थिए र करिब दुई घण्टा छलफलपछि फर्किएका हुन्।

‘अध्यक्ष ओली प्रधानमन्त्रीसँग लामो छलफल गरेर फर्किनु भएको छ,’ स्रोतले जनाएको छ।

छलफलमा आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ। साथै, निर्वाचन एकै चरणमा सम्पन्न गर्नुपर्ने सुझाव ओलीले सरकारसमक्ष राखेको स्रोतको दाबी छ।

दुवै पक्षका निकट व्यक्तिहरूका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच आगामी दिनमा पनि एकै चरणमा संवाद अघि बढाउने समझदारी बनेको छ।

प्रतिक्रिया