युवतीको विषयमा विवादपछि किशोरको हत्या,शव नालीमा फ्याँकियो

साझा लाल्टिन संवाददाता

 पुष, काठमाडौं - रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोक नजिकै नालीमा एक किशोरको शव भेटिएपछि स्थानीय क्षेत्र शोक र आक्रोशमा डुबेको छ। नालीमा फालिएको अवस्थामा भेटिएका १७ वर्षीय ईशान शर्मा पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

तेक्वान्दोका सक्रिय खेलाडीसमेत रहेका ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन थिए। खोजीका क्रममा उनको घरदेखि करिब डेढ सय मिटर टाढा रहेको नालीमा शव भेटिएको हो। टाउकोको पछिल्लो भागमा गहिरो चोट देखिएकाले उनलाई अन्यत्र हत्या गरी शव त्यहाँ फालिएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थलमा धेरै रगत नदेखिनु पनि यही अनुमानसँग मेल खाने प्रहरीको भनाइ छ।

स्थानीयका अनुसार केही दिनअघि विद्यालय परिसरमा एउटै युवतीको विषयलाई लिएर ईशान र उनका साथीहरूबीच विवाद भएको थियो। सोही विवाद नै घटनाको कारण हुन सक्ने आशंका गरिएको छ। कञ्चन–३ का वडा सदस्य दीपक अधिकारीले पनि त्यस्तो विवाद भएको पुष्टि गर्दै घटनाको दिन जिम गएका ईशानसँगै फर्किएका एक साथीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।

‘ईशान कुनै कुलतमा थिए भन्ने कुरा थाहा छैन, तर आफ्ना कुरामा दृढ रहने स्वभाव थियो। विद्यालयमा युवतीको विषयमा विवाद भएको सुनिएको थियो, वास्तविक कारण प्रहरी अनुसन्धानबाट खुल्नेछ,’ अधिकारीले भने।

रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीका अनुसार घटनाको अनुसन्धान विभिन्न कोणबाट भइरहेको छ र हालसम्म तीन जनालाई नियन्त्रणमा लिइएको छ। घटनास्थल वरपरको क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ।

ईशानकी आमा गाउँमै ब्यूटी पार्लर सञ्चालन गर्दै आएकी थिइन्, तर घटना भएको दिन उनी घरबाहिर थिइन्। यस घटनापछि स्थानीय बासिन्दाले दोषीलाई छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया