२७ फागुन,काठमाडौं - अभिनेत्री सुष्मा कार्की एक समय केपी शर्मा ओलीको खुलेर प्रशंसा गर्ने कलाकारका रूपमा चिनिन्थिन्। उनले २०७० सालतिर ओलीप्रतिको समर्थन देखाउन आफ्नो छातीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिन्ह सूर्यको ट्याटु समेत बनाएकी थिइन्।
तर अहिले अष्ट्रेलियामा बसिरहेकी कार्कीले भने त्यो ट्याटु परिवर्तन गर्ने संकेत गरेकी छन्। प्रतिनिधिसभा निर्वाचनमा एमालेको अपेक्षाकृत कमजोर प्रदर्शनको चर्चा भइरहेका बेला उनले सामाजिक सञ्जालमा ट्याटु फेर्ने कुरा गरेकी हुन्।
टिकटकमा भाइरल भएको भिडियोमा उनले मजाकिया शैलीमा भनिन्, “केपी बा, अब मैले के गर्ने होला ? यो सूर्यको ट्याटु हटाएर घण्टीको ट्याटु बनाउनुपर्ने भयो ।” उनले आफू ओलीको ‘डाइहार्ट फ्यान’ नै भएको बताउँदै अहिले परिस्थितिले फरक सोच्न बाध्य बनाएको संकेत गरेकी छन्।
एक समय नेपालमा रहँदा कार्कीले एमालेका कार्यक्रमहरूमा खुलेर समर्थन जनाउने गरेकी थिइन्। उनको छातीमा बनेको सूर्य चिन्हको ट्याटुले सार्वजनिक कार्यक्रमहरूमा विशेष चर्चा पनि पाउने गर्थ्यो।
‘तीन मिनेट डान्स गरेको पाँच लाख लिन्छु’ भन्ने अभिव्यक्तिबाट चर्चामा आएकी उनी अष्ट्रेलिया पुगेपछि भने राष्ट्रिय स्वतन्त्र पार्टी तिर झुकाव बढेको चर्चा पनि हुने गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोपछि उनको राजनीतिक झुकावबारे फेरि चर्चा सुरु भएको छ।