कुलिङ अफ पिरियड छानबिन समिति सदस्य कार्की - काँग्रेसले रामहरि खतिवडालाई बचाउन ब्ल्याकमेलिङ गर्यो

साझा लाल्टिन संवाददाता

 काठमाडौं २० साउन - राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद एवं कुलिङ अफ पिरियड छेडखानीबारे गठित संसदीय छानबिन विशेष समितिकी सदस्य रोशन कार्कीले प्रतिवेदन तयार पार्दा आफूहरूमाथि ब्ल्याकमेलिङ भएको आरोप लगाएकी छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरूले छानबिन समितिको प्रतिवेदनमा चाहेको जस्तो निष्कर्ष निकाल्न नसकेको बताएकी हुन् । 

ठुला राजनीतिक दलको सत्ताको दम्भ र बहुमतको अगाडि आफूहरूको केही नलागेको उनको भनाई छ । नेताहरूले पैसामा नैतिकता बेच्ने गरेको बताइन् । प्रतिवेदन तयार पार्ने काममा सोमवार ५ घण्टा सत्तारुढ दलका सांसदहरू हराएको उनको आरोप छ । 

संसदीय दलमा बैठक बसेर सांसदहरूलाई सिद्ध्याइदिन्छु जस्ता धम्की दिएको बताइन् । एमालेले मुख्यसचिवलाई बचाउने प्रयास गरेको र काँग्रेसले रामहरि खतिवडालाई बचाउन लागेको उनको आरोप छ ।

उनले भनिन्, ‘हामीले चाहेका जस्ता निष्कर्ष निकाल्न सकेनौँ । ठुला दलका सत्ताको दम्भ र बहुमतको अगाडि हाम्रो केही लागेन । तर पनि रातदिन उहाँहरूसँग लड्यौँ । तीन जनाले । विपक्षी दलमा भएकाहरूले । अन्तिमसम्म लड्यौँ । नैतिकता रहेसम्म कुलिङ अफ पिरियडको आवश्यकता पर्दैन । तर अहिलेसम्म नेपालमा आफ्ना पाप लुकाउन कर्मचारीलाई ठुला पदमा लगिन्छ । नैतिकतालाई पैसामा नेताहरूले बेच्छन् । नैतिकता भन्ने शब्दसँग ठुला दल डराउँदा रहेछन् । किनभने नैतिकता विहीन रहेछन् । सत्तासीन ठुला दलहरू नैतिकताविहीन रहेछन् । दिउँसो ५ घण्टा गायब हुनुभयो । संसदीय दलमा गएर राजनीति तेरो सिद्ध्याइदिन्छु भनेर ब्ल्याकमेलिङ गरेर धम्की दिइयो । एमालेले मुख्यसचिवलाई बचाउन खोजेको थियो । उहाँको नेतृत्व भ्रष्टाचारमा डुबेको छ । गिरिबन्धु टी स्टेटमा डुबेको छ । काँग्रेसले रामहरि खतिवडा बचाउनु थियो । नैतिकताको आधारले रामहरि खतिवडाले राजीनामा गर्नुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले हस्ताक्षर कर्ताहरू स्वाभाविक रूपमा जिम्मेवार हुनुपर्ने बताए । सरकारलाई समितिले छानबिन गर्न अझै ठाउँहरू छोडिदिएको उनको भनाई छ । 

उनले भने, ‘राजनीतिक रूपमा हस्ताक्षर कर्ताहरू स्वाभाविक रूपमा जिम्मेवार हुनुपर्छ भन्नेमा नकार्न सकिँदैन । त्यो भन्दा बाँकी भएका भागहरू सरकारले छानबिन गर्नुपर्छ । त्यो बाटो देखाइदिएका छौँ । आफ्ना बचाउन सधैँ लाग्नुहुन्छ । त्यहाँ पनि प्रयास नभएको होइन ।’

प्रतिक्रिया