विध्वंसमा संलग्नहरू फोटो र भिडियोको आधारमा धमाधम पक्राउ पर्दै

साझा लाल्टिन संवाददाता

काठमाडौं, २९ कात्तिक - भदौ २४ गतेको जेन जी विध्वंशमा भएका तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई चितवन प्रहरीले नियन्त्रणमा लिने क्रम बढेको छ । हालसम्म विभिन्न सरकारी कार्यालय र निजी सम्पत्तिमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा २८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फोटो र भिडियोका आधारमा पहिचान गरिएका व्यक्तिहरूलाई क्रमशः पक्राउ गरिएकामध्ये १२ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ । १६ जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये केही व्यक्ति यसअघि ज्यान मार्ने प्रयास, लागुऔषध तस्करी, अभद्र व्यवहार जस्ता मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिसकेका हुन् ।

जिल्लाका सरकारी कार्यालय तथा निजी घर जलेका वा तोडफोड भएकाहरूले क्षतिको विवरणसहित फोटो–भिडियो पठाउँदै तोडफोड, लुटपाट र आगजनीमा संलग्नको पहिचान र कारबाही माग गरेपछि प्रहरी पक्रन अघि बढेको हो । प्रहरीले समुदायमा हातहतियारसहित हिँड्ने, अराजकता फैलाउने ११ जनालाई अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको छ । 

ठूलो आवाज निकालिएका ६१ वटा मोटरसाइकल बरामद गरिएको छ भने त्यस्तो काम गरेका तीन वटा वर्कसपका मालिक पनि प्रहरी कारबाहीमा परेका छन् ।

प्रतिक्रिया