२९ मंसिर, काठमाडौं - नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ। मनोनयन दर्ता चलिरहँदा अध्यक्ष पदका आकांक्षीहरू आ–आफ्नो प्यानल गठनमा केन्द्रित भएका छन्।
तेस्रो कार्यकालका लागि मैदानमा उत्रिन लागेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पदका दावेदार ईश्वर पोखरेल दुवै पक्षले टिम तयार पार्न अन्तिम तयारी गरिरहेका छन्।
पार्टी स्रोतका अनुसार ओली समूहबाट महासचिव पदमा शंकर पोखरेलको उम्मेदवारी लगभग निश्चित देखिएको छ।
उता, ईश्वर पोखरेल नेतृत्वको प्यानलबाट भने सुरेन्द्र पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय भइसकेको बताइएको छ। सोमबार बिहान बसेको पोखरेल समूहको बैठकले पाण्डेलाई अघि सार्ने सहमति गरेको हो।
हाल पाण्डे उपाध्यक्षको जिम्मेवारीमा छन् भने पोखरेल स्वयं महासचिव पदमा कार्यरत छन्। एमालेले नयाँ नेतृत्वसहित केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी गरेको छ।