ओखलढुंगामा नेकपाका अम्बिरबाबु गुरुङको चुनावी खर्च १७ लाख

साझा लाल्टिन संवाददाता

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी ओखलढुंगा (नेकपा) का उम्मेदवार अम्बिरबाबु गुरुङले आफ्नो चुनावी खर्च सार्वजनिक गर्दै आफूले कुल १७ लाख रुपैयाँ खर्च गरेको बताएका छन्। जिल्ला निर्वाचन कार्यालय ओखलढुंगामार्फत निर्वाचन आयोगमा बुझाइएको विवरणमा यस्तो देखिएको हो।

चुनावी मैदानमा करोडौँ रुपैयाँ खर्च भएको चर्चा चलिरहेकै बेला गुरुङको सार्वजनिक विवरणले भने त्यसलाई खण्डन गरेको छ। उनले कानुनी सीमाभित्रै रहेर खर्च गरिएको दाबी गरेका छन्।

खर्च विवरणअनुसार सबैभन्दा ठूलो हिस्सा सवारी व्यवस्थापनमा गएको छ। गाडी भाडा, इन्धन र चालक खर्चमा मात्र ४ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। घरदैलो कार्यक्रमका क्रममा खाजा तथा खानामा ३ लाख ५० हजार खर्चिएको उल्लेख छ भने मतदाता सचेतना कार्यक्रममा ३ लाख रुपैयाँ खर्च गरिएको छ।

त्यसैगरी प्रचारप्रसार सामग्रीमा १ लाख ५० हजार, नमुना मतपत्र, स्टिकर तथा ब्याजमा १ लाख ४५ हजार रुपैयाँ खर्च गरिएको छ। झण्डा, ब्यानर र घोषणापत्रमा ६० हजार रुपैयाँ छुट्याइएको छ।

मतदाता प्रशिक्षणका क्रममा खाजामा १ लाख ८५ हजार र मतदाता नामावली प्रिन्टमा ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च गरिएको छ।

 नेकपा एमाले परित्याग गरेर नेकपाबाट चुनाव लडेका गुरुङले निर्वाचन परिणामअनुसार ११ हजार २९६ मत प्राप्त गरेका थिए।


प्रतिक्रिया