मतदानसम्म मदिरा पूर्ण प्रतिबन्ध,फागुन १८ बाट प्रचार बन्द, २० रातिदेखि सवारी ठप्प

साझा लाल्टिन संवाददाता

१४ फागुन,काठमाडौं - आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मादक पदार्थको बिक्री–वितरण र सेवनमा कडाइ गरिएको छ। मतदान मितिभन्दा सात दिनअघि देखि अन्तिम मत परिणाम घोषणा नहुँदासम्म देशभर मदिराजन्य वस्तुको कारोबार र सेवन पूर्ण रूपमा निषेध गरिने निर्णय उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले गरेको हो।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ अनुसार गठित उक्त समितिको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय लिएको जनाएको छ।

फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुने तय छ। त्यसैगरी, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा बन्द हुनेछ। सो अवधिमा निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिलाई पनि सक्रिय पारिने भएको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ का दफा १७ र १८ अनुसार निषेधित गतिविधि भएमा तत्काल कारबाही गरी निर्वाचन आयोगलाई जानकारी गराइनेछ।

यस्तै, मतदानको दिन सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म सवारी सञ्चालनमा प्रतिबन्ध रहनेछ।

एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारीसाधन भने सञ्चालनमा अनुमति दिइनेछ। निर्वाचनमा प्रयोग हुने पास प्राप्त सवारीसाधन र कूटनीतिक नियोगका सवारीसाधनलाई पनि अपवादको रूपमा सञ्चालन गर्न पाइनेछ।

निर्वाचन आयोगले यी सबै निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाएको छ।

प्रतिक्रिया