साम्पाङ–उपाध्याय फेसबुक भिडन्त: सुकुम्बासी मुद्दामा चर्कियो शब्दयुद्ध

साझा लाल्टिन संवाददाता

१३ वैशाख, काठमाडौं,

सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ र पूर्वसचिव भीम उपाध्यायबीच सामाजिक सञ्जालमै तीखो वाकयुद्ध सुरु भएको छ।

उपाध्यायले फेसबुकमा ‘मर्दले यसरी काम गर्छ, नामर्दहरू यसरी रुन्छन्’ भन्ने टिप्पणीसहित प्रमुख नेताहरू रोइरहेको एआई तस्बिर पोस्ट गरेपछि विवाद चुलिएको हो। उक्त पोस्टमा सुकुम्बासीको नाममा राजनीति गर्नेहरूलाई व्यङ्ग्य गरिएको सन्देश पनि समावेश थियो।

यसै पोस्टप्रति प्रतिक्रिया जनाउँदै साम्पाङ आक्रोशित बने। उनले उपाध्यायलाई लक्षित गर्दै ‘तँलाई गरिबको पीडा के थाहा?’ भन्दै कठोर शब्द प्रयोग गरेका छन्। मेलम्ची खानेपानी आयोजनासँग जोडिएको घोटालाको प्रसंगसमेत उठाउँदै उनले उपाध्यायमाथि आक्रोश पोखेका हुन्।

साम्पाङको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। धेरै प्रयोगकर्ताले सांसदको भाषाशैलीमाथि प्रश्न उठाउँदै आलोचना गरेका छन् भने केहीले उनको आक्रोशलाई गरिब वर्गको पक्षमा आएको प्रतिक्रिया भनेर समर्थन गरेका छन्। उपाध्यायले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिकृया दिएका छैनन्।

यसैबीच, साम्पाङले पछिल्ला दिनहरूमा सुकुम्बासी बस्ती हटाउने सरकारी कदमविरुद्ध निरन्तर फेसबुकमार्फत धारणा सार्वजनिक गरिरहेका छन्। उनले सरकारमाथि गरिब तथा निमुखा वर्गमाथि दमनकारी नीति लिएको आरोप लगाएका छन्।

उनका अनुसार, “वर्षौंदेखि बसोबास गर्दै आएको घर भत्काउँदा जो–कोहीलाई पीडा हुन्छ,” भन्दै उनले यसलाई मानवीय संवेदनासँग जोडिएको विषय बताएका छन्। साथै, उनले आगामी दिनमा अझै धेरै सुकुम्बासी बस्ती विस्थापनको जोखिममा पर्ने दाबी पनि गरेका छन्।

साम्पाङले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै विकास निर्माणभन्दा विस्थापनमा जोड दिएको आरोप लगाएका छन्। उनले सीमा विवाद, रोजगारी र जनजीविकाका मुद्दामा सरकार असफल रहेको टिप्पणीसमेत गरेका छन्।

प्रतिक्रिया