२० पुस, काठमाडौं - राष्ट्रियसभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलको चलखेल तीव्र बनेको छ। सत्ता र शक्तिको समीकरण मिलाउन शीर्ष नेताहरूबीच पर्दा पछाडिका छलफलहरू झन् सक्रिय भएका छन्।
यसैक्रममा आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ। भेटमा राष्ट्रियसभा निर्वाचनमा मिलेर जाने सम्भावनाबारे छलफल भएको बताइए पनि सहमति भयो वा भएन भन्ने विषय भने गोप्य राखिएको छ।
हिजो पनि ओली–प्रचण्ड भेट हुने तयारी थियो। तर प्रचण्ड काठमाडौं बाहिर रहँदा प्लेन ढिलाइ भएपछि भेट स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। भारतको नयाँदिल्ली प्रस्थान गर्नुअघि नै प्रचण्डले ओलीसँग भेट गरेका हुन्, जसले राजनीतिक तरंग झन् बढाएको छ।
नेकपाका नेता वर्षमान पुनले राष्ट्रियसभा निर्वाचनलाई लिएर प्रमुख दलहरूबीच गम्भीर छलफल भइरहेको स्वीकार गरेका छन्। तीन दल मिलेर चुनाव लड्न लागिएको हो भन्ने प्रश्नमा उनले स्पष्ट रूपमा भने,
‘कांग्रेसको तर्फबाट त्यस्तो प्रस्ताव आएको छ।’
यद्यपि, तालमेलको विषयमा कुराकानी भए पनि अन्तिम टुंगो भने लागिनसकेको पुनको भनाइ छ। चुनाव नजिकिँदै जाँदा शीर्ष नेताहरूको यस्ता भेटघाटले राजनीतिक वृत्तमा नयाँ समीकरणको संकेत दिएको छ।