कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमद्वारा फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय

साझा लाल्टिन संवाददाता

काठमाडौँ - माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका कामकारबाहीलाई शीघ्र र प्रभावकारी ढंगले सम्पादन गर्नका लागि फास्ट ट्र्याक डेस्क (Fast Track Desk) स्थापना गर्ने निर्णय लिएकी छिन । यस निर्णयले मन्त्रालयको कार्य संचालनलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखिएको छ।

मन्त्री गौतमका अनुसार, फास्ट ट्र्याक डेस्कको प्रमुख उद्देश्य निम्नलिखित कार्यहरूलाई प्राथमिकता दिनेछ:


1.शीघ्र र प्रभावकारी कार्य सम्पादन: मन्त्रालयमा सम्पादन हुने कामकारबाहीलाई व्यवस्थित तरिकामा, पारदर्शिता र समयमै सम्पन्न गर्नका लागि फास्ट ट्र्याक डेस्क स्थापनाको निर्णय गरिएको हो। यसका माध्यमबाट कामहरूको प्रगति र स्थितीको यथासम्भव निगरानी राखिनेछ।

2.पत्रहरूको शीघ्र फर्छ्याैट प्रक्रिया: अन्य मन्त्रालयबाट प्राप्त पत्रानुसारको कार्यलाई तत्काल शुरु गर्न र यकिन गर्नका लागि उचित कदम चालिनेछ। यसले कार्यको ढिलाइ रोक्न र कार्यमा पारदर्शिता ल्याउन मद्दत पुर्याउने छ।


3.काम कारबाहीको स्थायीत्व सुनिश्चित गर्ने: मन्त्रालयका शाखा र महाशाखाबाट समयसीमाभित्र काम नभएमा त्यहाँ भएका समस्याहरूको बारेमा नियमित जानकारी लिइनेछ र समस्याको समाधानका लागि पहल गरिनेछ।

यस पहलले मन्त्रालयका कामकारबाहीलाई द्रुत र प्रभावकारी बनाउने उद्देश्य राखेको छ, जसले गर्दा जनतासम्म प्रभावकारी सेवा पुर्याउन सहज हुनेछ।

प्रतिक्रिया